विश्वव्यापी रुपमा तीव्र गतिमा वृद्धि भइरहेको धार्मिक तथा साम्प्रदायिक ध्रुवीकरण र यसले सिर्जना गरिरहेका धार्मिक तथा साम्प्रदायिकअसहिष्णुताका कारण उत्पन्नभएका र भविष्यमा हुने सम्भावित सामाजिक दोषहरुलाई न्यूनीकरण गरी संस्कार र संस्कृतिको संरक्षणार्थ नेपालका मौलिक धर्महरु हिन्दू, बौद्ध तथा किराँतको सम्वद्र्धन तथा सहिष्णुता कायमगर्ने र यस्तो कार्य एउटै साझा सङ्गठनबाट गर्ने क्रममा प्रारम्भिक प्रयासको रुपमा पूर्वी नेपालको भोजपुर जिल्ला, अरुण गाउँपालिकाको वडा नम्बर ३ म¥याङडाँडा (प्याउली) मा गत२०७६ माघ १८ देखि २६ एउटै व्यासासनबाट किराँत,बौद्ध र हिन्दू गुरुहरुबाट पाठपारायण, कथावाचन, स्वास्थ्यशिविर, योग शिविर तथा सांस्कृतिक महोत्सव भव्यताका साथ सम्पन्न गरिएको कुरा सर्वविदितै छ ।
‘संस्कार र संस्कृति नै हाम्रो जीवनहो’ भन्ने मूल नाराका साथ नेपालको माटोमा जन्मिएका मौलिक धर्महरु हिन्दू, बौद्ध, किराँतको संरक्षण, संवद्र्धन तथा प्रचार प्रसार गर्नु आवश्यकता महसुस गरी सोही स्थानमा तीन वटै धर्मका अनुयायीहरुको साझा संस्थाका रुपमा विकास गर्ने उद्देश्यले तीन वटै कुल अर्थात् सनातन पद्धतिमा संस्कृत अध्ययन केन्द्र गुरुकुल, त्रिपिटक अध्ययनस्थल गुम्बा र मुन्धुम दर्शन अध्ययन स्थल एकै स्थानमा भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणका लागि वृहत्तर परियोजना प्रतिवेदन (DPR) तयार भई निर्माण कार्य प्रारम्भ भएको छ ।
उद्देश्यः
शैक्षिक कार्य
नेपालका मौलिक धर्महरुको प्रामाणिक अध्ययनस्थलको रुपमा विकास गर्नुपर्ने आजको आवश्यकतालाई मध्यनजर गर्दै नेपालको हिमालय सभ्यतामा आबद्ध रहेका भाषा, संस्कृतिको संरक्षण गर्ने संस्थाको मूल उद्देश्य रहेको छ । साथै विश्वकै प्राचीन र देवभाषाका रुपमा परिचित संस्कृतको अध्ययन र यसै भाषामा लिपिबद्ध भएका वेद, पुराण, उपनिषद् आदिग्रन्थहरुको अध्ययनले मानवको आध्यात्मिक समुन्नतिको उद्देश्य राखी गुरुकुलीय पद्धति अनुसार आदर्श गुरुकुलम्को स्थापना गरिने छ ।नेपालकै माटोमा जन्मी हुर्किएका बौद्ध धर्मका ग्रन्थ तथा सिद्धान्तानुसार गुम्बाशिक्षा र किराँत धर्मग्रन्थहरु एकै स्थानमाअध्ययनअध्यापन गरी धार्मिक एकता तथा सहिष्णुता कायम गर्ने उद्देश्य राखिएको छ । एउटै संस्थाको छत्रछायामा रहेर स्वतन्त्र रुपमा छुट्टाछुट्टै कूलहरु सञ्चालन हुनेछन् भने एउटा साझा कक्षामा सबै सहभागी रहनेछन् ।
सांस्कृतिक कार्य
संस्कृतिका नाममा आएका विकृतिहरु हटाउने उद्देश्य राखी धर्मसँग जोडिएका विभिन्न जातजातिका आ–आफ्नै परम्पराहरु जस्तैः बालन, सोरठी, लाखेनाच, साकेलानाच, उधौली, उभौली, भजनकीर्तन, तामाङ सेलो, भुजेल नाच लगायत विभिन्न झाँकीहरुको संरक्षण संवद्र्धनमा संस्थाले कार्य गर्ने छ ।
सामाजिक कार्य
गृहस्थीहरुको मुक्तिको मार्गको रुपमा प्रसिद्ध अतिथि सेवाका निम्ति अतिथि गृह (धर्मशाला) सञ्चालन गरी समाजसेवाको क्षेत्रमा पनि संस्थाले कार्य गर्ने छ । सो क्षेत्रमा कुनै सभा सम्मेलन वा कुनै वृहत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नुपरेमा स्थान अभाव रहेको कुरालाई मध्यनजर गरी सोही परिसरमा एउटा बहुउद्देश्यीय सामुदायिक गृहको निर्माण प्रारम्भ भएको छ । निकट भविष्यमा यस संस्थाले सन्तसेवा, गोेसेवा लगायतका क्षेत्रमा पनि कार्य गर्ने छ । धार्मिक पुस्तक प्रकाशन, धार्मिक पुस्तकालय र विभिन्न जातजातिको इतिहास र संस्कृति झल्किने गरी सांस्कृतिक संग्रहालयको निर्माण गरिने छ ।